आस्था राउतको प्रेरणादायी गीत कोशिस गर भिडियोमा

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ मँसिर

गायिका आस्था राउतले आफ्नो स्वरमा नयाँ गीत ‘कोशिस गर…’को भिडियो दर्शकमाझ ल्याएकी छिन् । गीतमा साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

यो गीतको भिडियोमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’की रिता राई, इश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्व फिचर्ड छन् । गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतबाट सार्वजनिक भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ ।

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाईमा भर पर्ने हो’, आस्थाले भनिन् । भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत छिन् । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहिन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन् । गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ भाव बोकेको छ ।