ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

चलचित्र महापुरुषको अमेरिकामा शोहरु बढेको छ । यस्तै नेपालमा पनि शनिबार यो चलचित्र धेरै हलमा हाउसफुल भएको छ । जात्रा र जात्रै जात्राको सफलता पश्चात कलाकार रबिन्द्र सिंह बानियाको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले संयुक्तराज्य अमेरिकामा राम्रो दर्शक पाइरहेको छ । फिल्मलाई अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ ।

नेपालमा पहिलो साता पाँच करोडको हाराहारीमा ग्रस कलेक्सन गर्न सफल फिल्मले अमेरिका प्रदर्शन डलासबाट सुरु गरेको थियो । सिनेपोलिस, युलेसमा हाल चलिरहेका १६ अन्य अङ्ग्रेजी र हिन्दी फिल्मको तुलनामा डलासमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरूष’ले बक्स अफिसमा उत्कृष्ट नतिजा देखाएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले बताए । ‘नोभेम्बर ४ बाट थप ९ हल थपिदै सोमबारसम्म एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जलस, एक्रोनमा दिनको कम्तिमा २ शो नियमित हुनेछ । नेपाली र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुको अर्को हब बाल्टिमोर मेरिल्याण्डका दुई थिएटरमा पनि प्रदर्शन हुँदैछ । मेरील्याण्डको होराइजन सिनेमाले बाल्टिमोर एरियामा प्रदर्शन गर्दैछ’, सुवेदीले भने । आउँदो हप्तामा यो चलचित्र ग्रीन्सबोरो, सान फ्रान्सिस्को, न्यूयोर्क, ओक्लाहोमा सिटी, न्यु जर्सी, सिएटल, कोलम्बस र क्यानडाका ३ सहरमा रिलिज हुने तयारीमा रहेको समेत उनले बताए । थिएटर विवरण सम्बन्धित वेभसाईटमा उपलब्ध रहेको छ । यस्तै, अष्ट्रेलियामा एमएसएम इभेन्ट्सले प्रदर्शन गरिरहेको छ ।

नेपालमा दोस्रो साताको शनिवार पनि विहानै देखि शोहरु हाउसफुल भइरहेका छन् । मोफसलका दर्शकसँग भेटघाट गर्न गरेको टीम काठमाडौं फर्किएर विभिन्न हलमा पुगेर उपत्यकाको दर्शकसँग भेटघाट गर्दैछन् । ‘फिल्मको बारेमा दर्शकले नै राम्रो छ भनेपछि दोस्रो हप्तामा झनै दर्शक बढिरहेका छन् । हामी विभिन्न हलमा पुगेर भेटघाट गर्दैछौँ । आज उपत्यकामा फिल्म प्रदर्शन भइरहेको अधिकाँस हलमा पुग्नेछौँ’, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।