संस्कृतिविद् सत्यमोहन जोशीको निधन, दिवँगत शरीर नजलाईने


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

वाङमय शताब्दी पुरुष तथा बरिष्ट संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आईतबार बिहान निधन भएको छ । दुई साता भन्दा लामो समयदेखि उपचारमा रहेको उनको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो । आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको जोशीले परिवारले जनाएका छन् ।

ज्वरोले ग्रस्त पारेपछि ७ असोजमा उनलाई ललितपुरको किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । उनको उपचार भएपछि डेंगु हट्यो । त्यसपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । पछिल्लो एक साता यताबाट उनको स्वास्थ्य अबस्था गम्भीर बन्दै गएको थियो । रगतमा प्लेटलेट घट्नुका साथै उनी मुटु र प्रोष्टेटको समस्याबाट पनि ग्रस्त थिए । यसरी उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

दिवँगत संस्कृतिविद् सत्यमोहन जोशीको दाहसँस्कार नगरिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै दिवँगत शताब्दी पुरुषको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै विज्ञप्तिमा यस्तो लेखेका छन्,‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए । त्यसपछि नेपाल सरकारले उनलाई वाङमय शताब्दी पुरुषबाट विभूषित गरेको थियो ।

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध थिए । उनले चार दर्जन भन्दा बढी पुस्तक लेखेका छन् । उनका कैयौ पुस्तकहरु विभिन्न भाषामा समेत अनुवाद भएर प्रकाशित छन् ।