लखनउ फेशन सप्ताहमा क्याटवाक गर्दै दिक्पाल कार्की


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असोज

अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दिक्पाल कार्कीले अर्को अन्तराष्ट्रिय फेसन सप्ताहमा सहभागी हुँदैछन् । भारतको लखनउमा आयोजना हुने इन्डिया इन्टरनेशनल फेसन वीकमा दीक्पालले क्याटवाक गर्ने भएका छन् ।

भारतको लखउनमा यही अक्टोबर १५ र १६ मा आयोजना हुने इन्डिया इन्टरनेशनल फेसन वीकमा मोडल कार्कीले सहभागिता जनाउन लागेका हुन् । मिस्टर मोडल अफ द वर्ल्र्ड २०१८ को उपाधि विजेता मोडल कार्कीले उक्त फेसन शोमा अन्तर्राष्ट्रिय मोडलका रुपमा सहभागिता जनाउन लागेका हुन् ।

यसअघि बैंककमा आयोजित थाइल्याण्ड इन्टरनेशनल फेशन उत्सवमा फेशन डिजाइनर र ब्राण्डका पोशाकसहित र्याम्पमा उत्रिएका उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरुमा सहभागी भइसकेका छन् ।

एसआरजे इभेन्टले आयोजना गर्ने यो फेसन वीकमा नेपालसहित रसिया, मलेसिया, स्पेन, ट्रिनिडाड एण्ड टोबागो, फिलिपिन्स, पोर्तोरिको, डोमेनिकन रिपब्लिक लगायतका देशका फेशन डिजाइनर र मोडलहरु सहभागी हुँदैछन् ।
सन् २००९ देखि मोडलिङ प्रारम्भ गरेका ६ फिट अग्ला मोडल कार्कीले दर्जनौं म्युजिक भिडियो तथा केही फिल्महरुमा अभिनय गरेका छन् ।