‘दोश्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा १६ देशका २३ नाटक


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चद्यने महोत्सवका देश विदेशका २३ नाटक मञ्चन हुनेछ । साथै विभिन्न अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला, कला प्रदर्शनीहरु हुनेछन् ।

महोत्सवमा आवेदन परेका मध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटकरु छानिएको आयोजकले जनाएको छ । मण्डला थिएटर नेपालले आयोजना गर्ने ९ दिवसीय नाट्य महोत्सवको सोमबार घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरिएको हो ।
मण्डला नाटकघर थापागाउँमा हुने महोत्सवमा नेपाल लगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् । साथै, भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने महोत्सवका निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिए । होत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।

त्यस्तै महोत्सवका संयोजक विजया कार्कीले महोत्सवबारे जानकारी गराउँदै ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना २०२२ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने जानकारी दिए । उनले भने, “महोत्सवमा नेपाली नाटकले आधुनिक रङ्गमञ्चमा मौलिक कथावाचन शैलीका आयाम देखाउनेछ भने विदेशी नाटकले त्यहाँका समसामयिक सामाजिक—राजनीतिक विषय लिएर आउनछेन् ।”

महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रङ्गमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानका लागि इच्छुकहरुले अवधारणा पत्र पठाउन सक्नेछन् । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रङ्गमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताए । उनले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झदैं देशमा कला, साहित्य, संगीतलगायतका महोत्सवहरुको आवश्यकता रहेको औंल्याए ।

त्यस्तै अग्रज रङ्गकर्मी अनुप बरालले महोत्सवलाई शुभकामना दिँदै युवा पुस्ताले नेपाली रङ्गमञ्चमा देखाएको सक्रियता र यस्ता महोत्सवहरुले नेपाली रङ्गमञ्चको भविष्य निर्माण गर्दै जाने उल्लेख गरे ।

त्यस्तै कार्यक्रम सञ्चालकको रुपमा रङ्गकर्मी केदार श्रेष्ठले रङ्गमञ्च कलालाई जीवनतर्फ फर्काउने र जीवनलाई कलातर्फ फर्काउने ठाउँ रहेको कथन सम्झदै नेपाल अन्तर्राष्टिय नाट्य महोत्सव सम्बन्ध र भावनाहरुको पनि महोत्सव रहेको उल्लेख गरे ।