मानवता प्रवर्द्धन अभियानमा नेपथ्य


ब्यूटी न्यूज नेपाल
काठमाडौं, १० असोज
तीन दशकभन्दा बढी समय गायन र साङ्गीतिक यात्रामा सक्रिय नेपथ्य यही यात्राका दौरान सामाजिक अभियानलाई पनि आत्मसात गर्दै अघि बढ्यो । नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ सँगै ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउमा सङ्गीतको मलम लगाउने प्रयास गर्यो ।

आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजसमेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्द्धन अभियान’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने भएको छ । यही उद्देश्यलाई सार्थक बनाउन नेपथ्यले मुलुकभर रहेको सामाजिक संस्था मानव सेवा आश्रमसँग हातेमालो गरेको छ ।

आश्रम एक दशकयता विशेषगरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसको सेवामा समर्पित छ । मुलुकका सडकपेटी एवम् सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नु नपर्ने अवस्था निर्माण गर्दै तीन वर्षमा मुलुकलाई सडक आश्रित मानवरहित तुल्याउने सङ्कल्प बोकेको उद्देश्यबाट प्रेरित भएर नेपथ्यले आश्रमसँग सहकार्य गरेको हो ।

यो सहकार्यअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रममार्फत् आश्रमको अभियान प्रवद्र्धन गर्नुका साथै मानवता प्रवद्र्धन गर्ने आवाजलाई प्राथमिकता दिनेछ । नेपथ्यले यो वर्ष आफ्ना कार्यक्रमको मूल शिर्षक नै ‘म्यूजिक फर ह्युम्यानिटी’ अर्थात् ‘मानवताको लागि संगीत’ राख्ने निर्णयसमेत गरेको छ ।

हेटौंडामा मुख्य कार्यालय रहेको आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लामा २३ वटा केन्द्र सञ्चालन गरिरहेको छ। केन्द्रले ७७ वटै जिल्लामा आफ्ना सेवा प्रवाह गरिरहेका छन् । यिनमा सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवले आश्रय पाइरहेका छन् । आश्रमले उद्धार गरेर ल्याएकै क्षणदेखि खाने, लाउने, बस्नेदेखि लिएर औषधोपचार, मानशिक परामर्श र तालिम पनि दिने गरेको छ ।

यसै उद्देश्यका निम्ति नेपथ्यले कन्सर्टमार्फत् अर्थ सङ्कलनमा समेत हातेमालो गर्नेछ । ‘नेपाली समाजले जसरी नेपथ्यलाई मनपरायो, त्यसरी नै नेपथ्यले पनि गीतसङ्गीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवम् अगुवा अमृत गुरुङ भन्छन्, ‘द्वन्द्वकालताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौंतारिएर हिँड्ने मानशिक सन्तुलन गुमाएकाको सङ्ख्या बढेको देख्थ्यौं। यिनीहरुको राज्यले उचित व्यवस्थापन गरिदिए हुने जस्तो लाग्थ्यो।’

मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३ सय ६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २८ सय २३ जनालाई परिवारमा पुनस्र्थापित गराइसकिएको छ । अहिले पनि यसका केन्द्रहरुमा करिब १५ सय उद्धार गरिएका मानिसले सेवा प्राप्त गर्दै आइरहेका छन् । त्यसैगरी आश्रमअन्तर्गत दुई सयभन्दा बढी पूर्णकालीन तथा अल्पकालीन स्वयंसेवी परिचालित छन् ।

आश्रमका संस्थापक एवम् अध्यक्ष रामजी अधिकारीले नेपथ्यसँगको सहकार्यले यो अवस्थामा अब उल्लेखनीय फड्को मार्ने विश्वास व्यक्त गरे । ‘मानव सेवा आश्रममा स्वतफूर्त भावले संलग्न लगभग सबैजसो स्वयंसेवी एवम् हितचिन्तक परिपक्व उमेरका मात्र देखिँदै आएका छन्,’ अधिकारी भन्छन्, ‘किशोरवय भन्दा माथिका बढीभन्दा बढी तन्नेरीलाई समेट्ने हाम्रो परिकल्पना नेपथ्यसँगको सहकार्यले सार्थक तुल्याउने छ भन्ने कुरामा म आश्वस्त छु।’