मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् ।

उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो । जसकारण म एक भयानक कार दुर्घटनामा परेँ। त्यो दुर्घटनामा मेरो शरीरबाट धेरै खुन बग्यो र मलाई ठीक हुन निकै समय लाग्यो । मैले पिउने पानीमा पाइसन मिसाएको पाइयो’, उनले भनेकी छन् ।

उनका अनुसार घरमा काम गर्ने एक सहयोगीले आफूलाई विष सेवन गराएको दाबी गरेकी छन् । ‘मेरो एक सहयोगी थिइन् । जो मेरो घरमा काम गर्थिन् । उनी घरमा काम गर्न आएपछि म विस्तारै विस्तारै बिरामी हुन थालेँ । त्यसपछि मात्र मलाई पानीमा केही मिसाइएको अनुभव भयो’, उनले भनेकी छन् ।

तनुश्रीले दुई वर्षअघि फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका समयमा अभिनेता नाना पाटेकरले आफूमाथि अश्लील हरकत गरेको आरोप लगाएकी थिइन् । भारतमा ‘मीटू मुभमेन्ट’ सुरु गर्ने श्रेय तनुश्रीलाई नै जान्छ ।