स्याक्सोफोनवादक शुभबहादुरको निधन


काठमाडौं । स्याक्सोफोनवादक तथा संगीतकार शुभबहादुर सुनामको सोमबार बिहान निधन भएको छ । मृगौला सम्बन्धी रोगबाट पीडित सुनामको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो । उनी ७४ वर्षका थिए ।

६ दशकदेखि स्याक्सोफोन बजाउँदै आएका उनले १० हजार भन्दा गीतमा स्याक्सोफोनको धुन जोडिसकेका छन् । ‘फुलको थुंगा बगेर गयो’, ‘के छ र दिउँ’, ‘रेलि माई रेलि माई’, ‘फूलै फूलको मौसम तिमीलाई’, ‘को हो त्यो जसले मलाई मोहनी लगायो’ लगायतका गीतमा संगीत दिएका छन् । उनले फिल्म ‘मनको बाँध’मा पहिलो पटक स्याक्सोफोन बजाएका थिए ।

उनी हार्मोनियम, तबला बजाउन पनि उत्तिकै पोख्त थिए । उनले तत्कालीन युवराज दीपेन्द्रलाई पनि संगीत सिकाएका थिए । ६ महिनाअघि पत्नी वियोगमा परेका सुनामको परिवारमा दुई छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।