‘नारी’मा घरेलु हिंसा बिरुद्ध नम्रता


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ भदौ

अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको र्याप गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ । गीतमा र्याप गायन श्रेष्ठ र पोपाट दुवैको छ ।

गायक प्रज्वल श्रेष्ठले नयाँ र्याप गीत नारी…दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई मुनस्टोन प्रोडक्सनले निर्माण गरेको हो ।
यो गीतको भिडियोमा नम्रतासँगै आशिष मगर र यूनिका केसीको अभिनय रहेको छ । भिडियोमा महिलामाथि हुने घरेलू हिंसाको कथा प्रस्तुत गरिएको छ । जसमा अभिनेत्री नम्रताले ससक्त अभिनय छ । आफूमाथि हुने कुनै पनि प्रकारको हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश भिडियोले दिन्छ ।

गायक प्रज्वल श्रेष्ठले ‘नारी’ गीत आफूले आफ्नो आमालाई सम्झिएर लेखेको र गाएको बताए । यो गीतले महिलामाथि हुने घरेलू हिंसा अन्त्य गर्न सघाउने उनको विश्वास छ ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री नम्रताले आफूमाथि भएको हिंसा सहेर बस्न नहुने धारणा राखिन् । उनले गाउँमा मात्र नभइ महिलामाथि हुने घरेलू हिंसा शहरमा पनि उतिक्कै रहेको र आफूले पनि साथी–भाई र आफन्तमा त्यस खालको हिंसा भएको देखेको बताइन् । उनले ‘नारी’ गीतले घरेलू हिंसाविरुद्ध आवाज उठाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, मुनस्टोन प्रोडक्सनका कम्पनी म्यानेजर आशिष मगरले घरेलू हिंसाविरुद्धको अभियानमा सघाउन ‘नारी’ गीतको निर्माण गरेको बताए । उनले आगामी दिनमा पनि यसप्रकारका सन्देशमुलक गीतको निर्माण मुनस्टोनले गर्ने जानकारी दिए । यो कम्पनीले अडियो र भिडियोसँगै फिचर चलचित्रको पनि काम गर्दै आएको छ ।