पत्रकार सुजनालाई निर्देशक सुदर्शन थापाद्धारा गाली, पत्रकार संघद्धारा भत्सर्ना


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ

चलचित्र पत्रकार सुजन श्रेष्ठलाई चलचित्र निर्देशक सुदर्शन थापाले विभिन्न गाली गजौल गर्दै धम्की दिएकोमा सो धम्कीको चलचित्र पत्रकार संघ नेपाल र नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले छुट्टा छुट्टै बिज्ञप्ति मँगलबार जारी गर्दै घोर भत्सर्ना गरेका छन् । एसोसिएटका प्रदेश महासचिब रोयल आचार्य र संघका सचिब रघुनाथ लामिछानेले बिज्ञप्ति मार्फत सो धम्कीको घोर भत्सना गरेका हुन् । अहिले सो घटनाका सर्वत्र निन्दा गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपालद्धारा प्रेषित विज्ञप्तिमा यस्तो लेखिएको छ,‘ नौलोन्यूज डटकममा प्रकाशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को एक समाचारको बिषयलाई लिएर पत्रकार सुजन श्रेष्ठलाई उक्त चलचित्रका निर्देशक सुदर्शन थापाले टेलिफोन मार्फत भौतिक आक्रमण गर्ने धम्की दिएको निवेदन प्रमाणसहित प्राप्त भएको हुँदा यस घटनाप्रति चलचित्र पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारकै बिषयलाई लिएर एक स्वतन्त्र पत्रकारलाई भौतिक आक्रमणको धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको तथा उक्त घटना निन्दनिय रहेको यस संघले ठहर गरेको छ । नेपाली चलचित्र क्षेत्रका स्थापित निर्देशकबाट धम्कीपूर्ण भाषा प्रयोग गरी पत्रकारलाई आक्रमणको आशय व्यक्त गर्नु अशोभनिय देखिन्छ । आगामी दिनमा यस प्रकारका घटना नदोहोर्याउन सचेत गराउँदै आवश्यक परे कानुनी प्रावधान अनुसारको प्रक्रिया जान अनुरोध समेत गर्दछौँ ।’

यस्तै एसोसिएट प्रदेश समितिले पनि यस्तै व्यहोराका विज्ञप्ति मार्फत सो घटनाका भत्सर्ना गर्दा पीडक थापा बिरुद्ध कानूनी कारवाहीको माग गरेको छ ।

https://www.facebook.com/1257378999/videos/844709816936104/