सम्हालिन्छ कहिले मन फिल्मको कन्टेन्टमा उत्कृष्ट टिकटक बनाउनेलाई एक तोला सुन


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

यही १९ भदौबाट देशव्यापी रिलिज हुने चलचित्र सम्हालिन्छ कहिले मनको बारेमा नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर टिकटक प्रतियोगिता घोषणा गरिएको छ । फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरलाई एक तोला सुन पुरस्कार प्रदान गर्ने बताएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तिजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्‍नेछन् । पुरस्कार जित्नका लागि उक्त टिकटकमा  #skmfilm अनिवार्य लेखिएको हुनुपर्छ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले धेरै भ्युज ल्याउँछ, उसैले पुरस्कार जित्ने निर्माण टोलीले जनाएको छ, २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ ।

महिला र पूरुषले संयुक्त वा छुट्टा–छुट्टै रूपमा टिकटिक बनाउन पाउँछन् । १७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेको छ । यी गीतहरुले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाइरहेका छन् । प्रतिस्पर्धीहरुले यी कन्टेन्टमा नै भिडियो बनाउन पाउनेछन् ।

सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको फिल्ममा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’ अलग प्रस्तुतिसहितको त्रिकोणात्मक प्रेमकथा हो । ९० प्रतिशत सुटिङ बेलायतमा गरिएको यस फिल्मको ट्रेलर हेरेपछि सामाजिक सञ्जालमा दर्शकहरुले मेकिङ शैलिको प्रशंसा गरिरहेका छन् ।