ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन

चलचित्र माईकल अधिकारी यही ३ भदौबाट देशब्यापी रिलिज हुँदैछ । कृष्ण जन्म अष्टमीको अबसर पारेर यो चलचित्रलाई निर्माण संस्था गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो । यो चलचित्रको १ भदौमा प्रिमियर समेत गरिँदैछ ।

फिल्म रिलिजको संघारमा यो चलचित्रको ‘फापरको रोटी…’ गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा अभिनेता यसराज गराच र अभिनेत्री सुष्मा कार्कीले निकै आकर्षक नृत्य गरेका छन् । पूर्वेली लोक जुवारी भाकाको यो गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । गीतमा बरिष्ट संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतमा शम्भुजितसहित रवि ओड र टिका प्रसाईले स्वर दिएका छन् ।

गीतमा यसराज गराज र सुष्माको आकर्षक नृत्यले केही समय भए पनि यो फिल्मका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टीको मन बहलाएको छ । गीतको फ्लासव्यापमा सौगात र सृष्टी पनि आकर्षक नृत्यसहित प्रस्तुत भएका छन् । अशान्त शर्मामा पनि गीतमा प्रस्तुत भएका छन् ।

रञ्‍जित रौनियारले निर्देशन गरेको सिनेमाले पूर्णत सेरोगेसी (भाडाको कोख)को कथा भन्छ । यो कन्टेन्ट नेपाली सिनेमाको लागि नयाँ बिषय हो । यो फिल्म अहिले कन्टेनको कारण पनि चर्चामा छ ।

यो चलचित्रका अन्य कलाकारमा लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिनलगायत छन् ।

उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई निरक पौडेलले निर्माण गरेका हुन् । मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई, कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा, रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री, दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।