नेपाली र हिन्दी भाषामा आयो प्रेम गीत ३ को टिजर

ब्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन

आगामी ७ असोजबाट नेपाल तथा अन्य देशमा रिलिज हुने प्रेमगीत ३’ को टिजर शनिबार एकसाथ नेपाली र हिन्दी भाषामा रिलिज गरिएको छ । यो चलचित्र कोभिड अघि नै निर्माण भएर रिलिजको तयारी हुँदाहुँदै कोभिडका कारण रोकिएको थियो । अब भने आगामी दशैंको अबसर पारेर रिलिज गरिने भएको छ । यो फिल्म भारतमा सिनेमा हलसँगै त्यहाँको जि ओटिटी प्लेटफर्मबाट रिलिज हुने भएको छ ।

नेपाली भाषामा प्रेम गीत ३ को टिजर ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । यस्तै हिन्दी भाषाको टिजर ’स्पार्कलिन स्टुडिओ’ बाट सार्वजनिक गरिएको छ । दुबै टिजरलाई दर्शकले मन पराएका छन् । नेपाली टिजरले रिलिज भएको १८ घन्टामै एक मिलियन अर्थात दश लाख भन्दा बढी भ्युज पाएको छ । यो टिजर नेपाल युट्युव ट्रेन्डिङको छैटौं स्थानमा रहेको छ । हिन्दी भाषाको टिजरले यो अवधिमा ३ लाख ५० हजार भ्युज पाएको छ ।

चलचित्रका मुख्य पात्र अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङले निर्वाह गरेको भूमिका प्रेम र गीतको प्रेम सम्बन्धको आरोह अबरोहलाई टिजरमा समेटिएको छ ।

चलचित्रको छायाँकन मनाङमा गरिएको हो । दृष्य निकै आकर्षका छन् । यो चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ । यो चलचित्रमा राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, एलिस कार्की र कल्याण सिंहको संगीत रहेको छ ।