नयाँ फिल्म सायरामा आर्यन अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

अभिनेता आर्यन सिग्देल नयाँ फिल्म सायरामा अनुबन्धित भएका छन् । उनले आइतबार निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली.सँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । यो फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन् । यो चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।

फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । ‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने ।
आर्यानले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताएका छन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

यता रघुले ले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिने छौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए ।

उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकाँस छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए । पर्दामा लभ स्टोरीलाई जीवन्त बनाउन माहिर मानिने आर्यनले केहि समय अगाडी निर्माण तथा अभिनय गरेको फिल्म ‘कायारा’ झैँ सुनिने उस्तै नाम भएको ‘सायरा’ मा काम गर्ने तयारी गर्न लागेका हुन् । केहि फिल्मको तयारीमा रहेका आर्यनले यो फिल्म आउँदो दसैँ र तिहारको समयमा छायांकन गर्ने गरी तयारी गरिरहेका छन् ।