डिजे सन्तोषले ल्याए जालेरुमाल


ब्युटी न्युज नेपाल
काठमाडौं १८ साउन

डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । लामो अन्तरालपछि उनले यो गीतको भिडियो सार्वजनिक गरेका हुन् । काठमाडौंमा आयोजित एक समारोहमा गीतको सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन् ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार अभिनेताहरु सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगायतको. उपस्थित थियो । कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए ।

नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।