एक साथ आए संगीतकार योगेन्द्र उपाध्यायका तिन गीतिसंग्रह

ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बजारमा आएको छ । स बिमोचन गरिएको छ । बिहिबार काठमाडौंका जमल स्थित नाचघरमा योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन भएको हो ।
अग्रज संगीतकार दिप श्रेष्ठ, गायिका ज्ञानु राणा, संगीतकारहरु राजु सिंह, भुपेन्द्र रायमाझी, टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक एवम् संगीतकार शंकर थापा ‘स्माइल’, गायक शिव परियार, र संगीतकार स्वयम् योगेन्द्र उपाध्याय लगायतले तीन वटै गीतिसंग्रह बिमोचन गरेका हुन् ।

२०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगीतामा प्रथम भएको योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । योगेन्द्रले त्रिभुवन बिश्व बिद्यालयबाट संगीतमै मास्टर्स गरि ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गरेका छन् । यी तिन वटै गीतिसँग्रहलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ ।

यता बिमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफुले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताए । जसका कारण अहिले एकसाथ तिनवटा एल्बम सार्वजनिक गरेको उनको भनाई छ । योगेन्द्रले आफुले सिकेको संगीतका बिभिन्न सुरहरुलाई एल्बम मार्फत प्रस्तुत गरेको बताए । योगेन्द्रका तिनै एल्बम फरक फरक जनरामा छन् । ६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो ।

सार्वजनिक एल्वमको समिक्षा गर्दै प्रमुख अतिथी वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले योगेन्द्रको प्रसंसा गरेका छन् । उनले एउटै संगीतकारले भर्सटायल रुपमा आफुलाई प्रस्तुत गर्न सक्नु र त्यसमा उत्कृष्टता प्रदान गर्नु योगेन्द्रको अब्बल पक्ष रहेको बताए । आफुले तिनवटै एल्वमका गीत सुनेको भन्दै उनले योगेन्द्रलाई अब्बल संगीतकारको सुचिमा राखेको पनि जनाए । संगीतका १२ सुर हुने र त्यसलाई सही प्रयोग गर्न रागको ज्ञान हुनुपर्ने भन्दै त्यो योगेन्द्रमा पाएको बताए । योगेन्द्र नेपाली संगीत क्षेत्रको चम्किलो तारा भएको दिप श्रेष्ठको भनाई छ ।
यस्तै बरिष्ठ गायिका ज्ञानु राणाले योगेन्द्रले बिभिन्न जनराका गीतमा उत्कृष्ट संगीत दिएको बताइन । आफु योगेन्द्रको स्वरको पहिले देखि नै प्रसंसक भएको भन्दै उनले सार्वजनिक एल्वमका गीत सुनेपछि संगीतको पनि प्रसंसक भएको जनाइन । यस्तै बरिष्ठ संगीतकार राजु सिंहले योगेन्द्रका गीत सुन्दा उनलाई संगीतका परिपक्क खेलाडीका रुपमा आफुले पाएको जनाए ।

यता योगेन्द्रका गीत सुन्दा उत्कृष्ट सृजनालाई मर्न दिनुहुन्न भन्ने सोचका साथ उनका तिनवटै एल्वम उत्पादन तथा वितरणको जिम्मा लिएको डश म्युजिकका कार्यकारी निर्देशक शंकर थापा ‘स्माइल’ले जनाएका छन् । आफुले पनि एउटा गीतमा स्वर दिएको भन्दै स्माइलले योगेन्द्रको संगीतको आफु प्रसंसक भएको जनाए । यस्तै बरिष्ठ गायक शिब परियारले पछिल्लो समय एल्बम बिमोचनको परिपाटी लगभग हराइसकेको भए पनि योगेन्द्रले त्यसलाई पुर्नजिवित बनाएको बताए । एल्बम बिमोचनको यो पलमा उपस्थित हुन पाउदा खुशि लागेको भन्दै शिवले युगले सम्झिने संगीतकारका रुपमा योगेन्द्रलाई चित्रण गरे ।

यस्तै रोयल्टी संकलन समाजका महासचिव बि पाण्डेले योगेन्द्र सृजनाका धनी भएको जनाए । उनका सृजना आम स्रोताको मन छुने खालका भएको भन्दै त्यसले सकारात्मक प्रतिफल दिने विश्वास राखे । डिजिटल लगायत बिभिन्न प्लेटफर्महरुबाट प्राप्त हुने रोयल्टीले अब श्रष्टा बाच्न सक्ने अबस्था आएको भन्दै उनले योगेन्द्रका गीतको रोयल्टीको अधिकार आफ्नो संस्थाले सुरक्षित गर्ने पनि बताए ।

रेडियो नेपालका बोर्ड सदस्य टिका भण्डारीले योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार भएको भन्दै उनको संगीतकर्म पनि ‘ए’ ग्रेडकै रहेको उल्लेख गरे । २०६८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । २०७५ सालमा योगेन्द्रलाई रेडियो नेपालले ‘ए’ ग्रेडका संगीतकारको सर्टिफिकेट प्रदान गरेको थियो । गायक, गीतकार तथा संगीतकारहरुलाई रेडियो नेपालले प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्ट भएकाहरुको मुल्याङकन गरि ग्रेडिङ गर्ने हुँदा योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार ठुलो उपलब्धी भएको संगीतकार टिका भण्डारी जनाएका छन् ।