दीप र तृष्ण हटाएर द भ्वाईस कोचमा राजेश पायल र प्रविशा अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । तेश्रो सिजनसम्म लगातार कोच रहेका बरिष्ट गायक दीप श्रेष्ठ चौथो सिजनमा कोचबाट हटेका छन् । यस्तै तेश्रो सिजनमा कोच रहेकी गायिका तृष्ण गुरुङ पनि चौथो सिजनमा हटेकी छिन् । बाँकी दुई कोच प्रमोद खरेल र राजु लामा यथावत रहेको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा आयोजक पक्षले जनायो ।

आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागी दुई कोच परिवर्तन गरिएको छ । चौथो सिजनका लागी राजेशपायल राई र प्रविशा अधिकारी थपिएका छन् । यो गायन सम्बन्धि रियालिटी शो हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् । ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए ।

कोच राजेश पायल र प्रविशाले चौथो सिजनमा जोडिन पाउँदा खुसी व्यक्त गरे । सबै भन्दा बढी पारिश्रमिक लिएर आफु कोच भएको राजेश पायलले खुलासा गरे। कार्यक्रममा हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै द भ्वाईस अफ नेपालको चौथो सिजन प्रसारण हुने गरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताए ।