मिस्टर एण्ड मिस थारु २०२२ को खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ साउन

आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरेको छ । सहभागि हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने आयोजकले जनाएको छ ।

मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसंगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरुमा अडिसन हुँदैछ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलोदिन सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए ।

यस्तै दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिरहाको लहान, कैलालीको टिकापुरमा एकैसाथ हुने छ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एक साथ हुने चौधरीले जानकारी दिए ।

अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै काठमाडौँ बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी छ । लगातार दुई संस्करणको ग्राण्ड फिनाले काठमाडौंमा भएको थियो भने तेस्रो संस्करणको फिनाले चितवनमा भएको थियो । थारु बाहुल्यता भएका जिल्लाहरुमा ग्राण्ड फिनालेहरु गर्दै लैजाने तयारी भइरहेको जह इन्टरटेनमेन्ट प्रा.लि.निर्देशक रुपेश चौधरीले जानकारी दिए । सोही अनुरुप यसपटक पनि काठमाडौँ बाहिर नै ग्राण्ड फिनाले गर्ने तयारी भइरहेको छ ।