चट्याङले रिप गाउँमा ५० भेडा बाख्रा मरे


(रासस)
सिमकोट, ६ साउन

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा भेडा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी भेडा बाख्रा मरेका छन् । सो चट्याङमा परी एक जना घाइते भएका छन् ।

रिपको खानी भन्ने स्थानको खर्कमा भेडा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हँुदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सुधार भईरहेको पनि उनले जनाए ।

खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताउनुभयो । सो घटनामा घाईते भेडा बाख्राको विवरण अझै नआएको पनि कार्कीले बताएका छन् ।