संगीतकार विनय वर्माको स्मृतिमा साङ्गीतिक कार्यक्रम

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन

सङ्गीतकार विनय वर्माको स्मृतिमा काठमाडौंमा विविध साँगीतिक कार्यक्रम गरिएको छ । नेपाली गीत सङ्गीतका क्षेत्रमा अनवरत सक्रिय रहेर सेवा गरेका वर्माको सम्झनामा श्रुति सङ्गीतालय र कपन सङ्गीत सरोवरको संयुक्त साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो । आयोजना पर्यटन बोर्डको हलमा सम्पन्न सो कार्यक्रममा वर्माको नेपाली सङ्गीताकाशमा योगदानलाइ सम्झना गर्दै बिभिन्न कलाकारहरूले आफ्ना प्रिय गुरूका लागि सङ्गीत पस्किएका थिए । अल्पायुमा शारीरिकरूपमा विश्राम लिएका वर्माले नेपाली सङ्गीत क्षेत्रमा सङ्गीतकारका रूपमा मात्र नभै रचनाकार र गायकका रूपमा पनि विशिष्ट सेवा दिएका थिए ।

सो श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् बरिष्ठ सितारवादक उमा थापा । विनय वर्मालाइ सम्झिने क्रममा ५ वटा विशिष्ट साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साङ्गीतिक कार्यक्रम श्रुति सङ्गीतालयका बालबालिका विद्यार्थीहरूले गणेश भजन गाएर शुरू गरे भने श्रुति सङ्गीतालयकै प्रहर्ष महर्जनले तबला सोलो कार्यक्रम प्रस्तुत गरे ।

साङ्गीतिक संझना कार्यक्रममा विनय वर्माकी सुपुत्री तथा परिचित गायिका सुजाता वर्माले शास्त्रीय गायन प्रस्तुत गरेकी थिइन् । सो प्रस्तुतिमा विनय वर्माका नातिहरू संकल्प वर्मा र शतक वर्माले सुजाता वर्माका लागि तबला र तानपुरा बजाएर साथ दिएका थिए । चौथो सांगीतिक कार्यक्रमका रूपमा सन्तोषभक्त श्रेष्ठ, नगेन्द्रविक्रम राइ र जगन्नाथ धगौडाको शास्त्रीय सङ्गीतको प्रस्तुति थियो भने अन्तिम प्रस्तुतिका रूपमा प्रशिद्ध शास्त्रीय गायक श्रीकेसी र प्रशिद्ध तबलाबादक मिलेस तण्डुकारको ध्रुपदको थियो । कार्यक्रम बिसुकुमार केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।