१६ जना चलचित्र पत्रकार सम्मानित तथा पुरस्कृत


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । बिगत तीन वर्षदेखि रोकिएको पुस्कार संघले शनिवार काठमाडौंमा एक समारोहबीच २३ औं वर्षिक उत्सब मनाउँदै प्रदान गरेको छ ।

समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर. डि. शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो । मैनाली र सृँखलालाई जनही २५ हजार रुपैयाँ र पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए । आचार्य र अधिकारीलाई प्रदान गरिएको पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ थियो । २०७८ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरियो ।

‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भए । २०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ भने नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो । गौतम र सुवेदीलाई जनही ५१ हजार रुपैयाँ सहितको पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्दव रसाइली र सोही सालको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ हेटौंडाका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो । प्रोत्साहन पुरस्कारमा ल्याप्टप प्रदान गरियो । यस्तै मोफसल चलचित्र पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अभिनेता भुवन केसी, राजेश हमाल, संघका पूर्व अध्यक्ष बिदूर गिरी, अध्यक्ष दिनेश सिटौलालगायतले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।