थारु भेषमा सागर र यमुनाले गरे बैंस दिन नमिल्ने कुरा


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

गायक यज्ञ बिक र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत बैंस दिन नमिल्ने सापटीको भिडियो बजारमा आएको छ । यो गीतको भिडियो बुधबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो गीतमा गायक यज्ञकै संगीत रहेको छ । नेत्र अर्यालले शब्द लेखेका हुन् । सुनिल परियारले संगीतको एरेन्ज गरेका छन् ।

यो गीतको भिडियोमा सागर लम्साल (बले) र यमुना रसालको मुख्य भूमिका रहेको छ । करिब दुईसय म्युजिक भिडियोमा अभिनय गरिसकेका अभिनेता सागर लम्साल (बले)ले कार्यक्रममा भने, ‘मैले अहिलेसम्म थारु जातिको पोशाक लगाउने अवसर पाएको थिइन । थारु समुदायसँग नजिक छु तर यो किसिमको पोशाक लगाएर नृत्य गर्ने अवसर अहिलेसम्म नमिलेपनि यो भिडियोबाट यो चाहाना पनि पुरा भएको छ ।’

बैंश दिन नमिल्ने सापटी गीत निकै मन परेको बताउँदै यो गीतको भिडियो रिलिज कार्यक्रममा सागरले भिडियोमा काम गर्दाको अनुभव सुनाए । सागरले चितवनको थारु समुदायमै पुगेर भिडियोको छायांकन गर्दाको अनुभव साटेका थिए ।

भिडियोको मेकिङ कन्सेप्ट भने कोरियोग्राफर तथा निर्देशक काजिश श्रेष्ठको हो । चितवनका बिभिन्न ठाउँमा पुगेर मौलिक पन दिन खोजिएको काजिशको भनाई छ,‘यसअघि पनि मैले केहि भिडियोमा थारु समुदायमै पुगेर छायांकन गरेको छु । तर सागर जीसँगको यो मेरो तेस्रो सहकार्य हो ।’ काजिशले भने,‘चितवनको गर्मिमा दुईदिन लगाएर भिडियो छायांकन गरेका हौँ ।’

कार्यक्रममा गायक यज्ञले आफ्नो गीतको अडियोलाई भिडियोले पुर्णरुपमा न्याय दिएको बताए । उनले भने, ‘मैले अडियोमा जसरी मिहिनत गरेको थिएँ त्यो अनुसारकै भिडियोको टिमले पनि मिहिनत गरिदिनुभयो र आज राम्रो भिडियो बन्यो ।’ भिडियोकी कलाकार यमुनाले पनि आफूले पहिलोपटक फरक अनुभव लिएको सुनाइन् । भिडियो राजेश घिमिरेले खिचेका हुन् भने दीपक बिष्टलेको सम्पादन गरेका हुन् ।