स्टार म्युजिक भिडियो अवार्डमा अग्रज श्रष्टालाई सांगीतिक सम्मान गरिँदै

ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न अग्रज संगीतकर्मीहरु राष्ट्रिय सम्मानबाट सम्मानित हुने भएका छन् । ग्रेट नटराज फिल्मस् प्रा.लि.को आयोजनामा शनिबार २८ जेठमा काठमाडौंको ठमेल स्थित अलफ्ट होटलमा आयोजना गर्न लागेको ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ मा अग्रज सँगीतकर्मीलाई सम्मान गर्ने भएको छ । समारोहमा आधुनिक गायन क्षेत्रबाट बरिष्ट गायक दीप श्रेष्ठ बिशिष्ट संगीतकर्मी सम्मान २०२२ बाट सम्मानित हुने भएका छन् ।

यस्तै लोक संगीत क्षेत्रबाट बरिष्ट बाद्यबादक तथा संगीतकार खड्ग बुढा, लोक दोहोरी क्षेत्रबाट बरिष्ट लोक दोहोरी गायक कृष्ण कँडेल, बरिष्ट लोक दोहोरी गायक राजु परियार, बरिष्ट लोक दोहोरी गायिका लक्ष्मी न्यौपान र बरिष्ट कलाकार मधुर बस्नेत पनि सम्मानित हुँदैछन् । यस्तै लोक गायन तर्फ नै नयाँ पुस्ताबाट गायिका सरिता भारती र विशाल स्याङ्जाली पनि कार्यक्रममा सम्मानित हुने भएका छन् ।

सामाजिक क्षेत्रबाट अन्तराष्ट्रिय रुपमा सामाजिक कार्य गर्दै आएका अमेरिकामा बस्ने नेपाली भाषी डिल्ली अधिकारी पनि सामाजिक योगदान सम्मानबाट कार्यक्रममा सम्मानित हुँदैछन् । यस्तै सञ्चार क्षेत्रमा रहेर साँढे तीन दशक भन्दा लामो समय योगदान पु¥याएका अग्रज रँग पत्रकार प्रकाश सुवेदी पनि बरिष्ट सञ्चारकर्मीको रुपमा कार्यक्रममा सम्मानित हुने भएका छन् ।

विहान ११ बजेबाट दिउँसो २ बजेसम्म आयोजना हुने सो कार्यक्रममा विभिन्न ४० विधामा स्टार म्युजिक भिडियो अवार्ड प्रदान गरिने भएको छ । कार्यक्रममा विभिन्न कलाकारले नृत्य तथा गीत संगीत पनि प्रस्तुत गर्नेछन् ।