नेपाल चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

नेपाल चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न ४७ औं वार्षिक साधारण सभा तथा अधिवेशनले श्रेष्ठलाई सँघको अध्यक्षमा चयन गरेको हो । उनी तीन वर्षका लागि निर्विरोध रुपमा अध्यक्षमा चयन भएका हुन् । देशभरका सिनेमा हल सञ्चालक तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघले सबै कार्यसमिति निर्विरोध पाएको छ ।

संघमा श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चयन भएको छ ।

संघका बाँकी १३ जना केन्द्रिय सदस्य पनि निर्विरोध चयन भएका छन् । पदाधिकारी भने संघको पहिलो बैठकबाट चयन गरिने भएको छ ।

केन्द्रिय सदस्यमा चयन भएकाहरुमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, गोविन्द शाही, कपिल प्रसाद द्धा, राजकुमार श्रेष्ठ, ओम जैसी, कुवेर शर्मा, भाष्कर ढुँगाना, प्रज्ज्वल शमशेर जवरा, निरज कार्की, सुरेन्द्र कुमार थापा, चैतन्य प्रसाद बराल र युवराज प्रसाई रहेका छन् ।

नेपाल चलचित्र संघको ४७ औं साधारण सभाको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेमगरले गरेका थिए । सो साधारण सभामा बोल्दै मन्त्री आलेमगरले सिनेमा हलहरुले प्रदर्शनीमा नेपाली चलचित्रलाई महत्वका साथ स्थान दिनु पर्ने बताए । नेपाली कला संस्कृति रहेमा नेपाल रहने कुरा स्मरण गराउँदै नेपाली चलचित्रलाई महत्व दिनु पर्ने सुझाब उनले दिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले आफुहरुको कार्यकाल सम्पन्न गरेकोमा अध्यक्ष मधुसुदन प्रधानको समुहलाई धन्यबाद ज्ञापन गर्दै नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरे । हामीहरु नेपाली भएकाले सिनेमा हल सञ्चालकले नेपाली चलचित्रलाई उपयुक्त शोहरु दिएर आफ्नो सिनेमाको विकाशमा मद्धत पुर्याउनु पर्ने सुझाब दिए ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले कोरोना महामारीका कारण आफ्नो कार्यकाल नेपाली सिनेमा हल सञ्चालकहरुका लागि निकै पीडादायी भएको बताए ।