ब्युटी न्युज नेपाल
भैरहवा,२२ जेठ

आज बहिन भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । बाँकी ८ जना सामान्य घाईते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास,  भारतका अरविन्द्र शर्मा छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सनाखत भएका मध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र २ जनाको भीम अस्पतालमा मृत्यु भएको हो । बाँकीको सनाखत हुँदैछ । प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ ।

चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दाे उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेण्ट डा शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरेका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु२ख ३८४१ नंको बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।