विश्वजितम नाममा हिन्दीमा पनि असोज ७ मा प्रेम गीत ३ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘प्रेम गीत–३’ अब अर्कै नाममा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । हिन्दी भाषामा स्वराँकन गरेर यो चलचित्रको नाम ‘विश्वजितम’ राखिएको छ । अब आगामी ७ असोजमा चलचित्र प्रेम गीत ३ नेपालमा र विश्वजितम भारत सहित अन्य देशमा रिलिज हुने यो चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले बताएका छन् ।

यो चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रलाई हिन्दी भाषामा स्वारँकन गरेर त्यहाँ दर्ता गरी हिन्दी सिनेमाको दर्जा लिईएको छ ।

त्यसैले अब यो चलचित्र नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने सन्तेले बताए,‘असोज ७ गते यो चलचित्र नेपालसँगै भारतमा पनि रिलिज हुने छ । यस्तै असोज ७ गते नै चलचित्र भारतसँगै विश्वरभर पनि रिलिज हुने भएको छ ।’ सन्तोषले भने । उनका अनुसार भारतीय चलचित्र वितरकले व्यवसायिक रुपमा नेपाली चलचित्र रिलिज गर्न लागेको यो पहिलो पटक हो ।

चलचित्र कोभिड संक्रमणको महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउनका कारण चलचित्र रिलिज हुन सकेको थिएन । सन्तोषले यो चलचित्र लामो समय मुम्बइमा बसेर हिन्दी भाषामा डबिङ गराएका थिए । यो चलचित्र भारतका फिल्म हलमा पनि रिलिज गर्ने उद्धेश्यले हिन्दीमा डबिङ गराईएको हो ।