पल शाहलाई धोरौटीमा नछोडी पुर्पक्षको लागि थुनामै राख्ने आदेश

ब्युटी न्युज नेपाल
पोखरा, १९ जेठ

नावालिकलाई जबरजस्ती करणी गरेको मुद्धामा तीन महिनादेखि हिरासतमा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश उच्च अदालतले दिएको छ । पोखराको उच्च अदालतमा पल शाहका वकिलले हालेको मुद्धामा उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपुरकै निर्णयलाई सदर गर्दै बिहिबार यस्तो निर्देशन दिएको हो ।

सुरु जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । सोही आदेश अनुसार उनलाई अहिले कारागारमा राखिएको छ । जिल्ला आदलतको सो आदेश विरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले सुरु जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको थुनछेक आदेशविरुद्ध १३ वैशाख, २०७९ मा साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्चमा परेको निवेदनमा यसअघि ४ पटकसम्म पेसी स्थगित हुँदै आएको थियो ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो आदेश दिएको हो । बिहीबारमात्र भएको सुनुवाइमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ताहरु भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गरेका थिए । यस्तै, सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता ईश्वरी ढकालले बहस गरेका थिए ।

यस्तै, मुद्दामा सहप्रतिवादी कृष्ण जोशीको मुद्दामा पनि सुरु जिल्ला अदालतकै आदेशलाई सदर गरिएको छ । उनी धरौटीमा रिहा भएका थिए । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह शाल ३ महिनादेखि जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । यो फैसलाले उनका फ्यान झनै दुखित भएका छन् ।

जबरजस्ती करणी मुद्दामा १० चैत, २०७८ को थुनछेक बहसमा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेका थिए ।
सुटिङक्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो बहानामा आफूलाई पटकपटक करणी गरेको भनी ती नावालिगले ११ फागुन, २०७८ जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा साधारण तारेखमा राखी पाउँ भनी निवेदन दिएका हुन् । थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र पललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर थियो ।