अमेरिका जान चाहनेले हर्ने पर्ने फिल्म हो लाईफ ईन एलए–सूर्य श्रेष्ठ


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

नेपाली चलचित्र ‘लाईफ ईन एलए’ यही शुक्रबार ६ जेठबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । त्यसो त आकाश श्रेष्ठ र पुजा शर्माले अभिनय गरेको अर्को चलचित्र सम्झना विर्सना पनि यही मितिमा रिलिज हुने तयारी हुँदै थियो । तर फिल्मको प्रचार पुगेन भन्दै निर्माण पक्षले त्यो फिल्म अब जेठ ६ मा रिलिज नगर्ने भएको छ । त्यसैले जेठ ६ गते नेपालका सिनेमा हलमा चलचित्र लाईफ ईन एलए मात्र रिलिज हुने भएको छ । चलचित्र लाईफ ईन एलएलाई सूर्य श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्मबाट सूर्यले नेपाली चलचित्र निर्देेशनमा डेब्यु गर्दैछन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका उनी अमेरिकाको लस एन्जलस (एलए) मा बस्छन् ।

आफुले निर्देशन गरेको चलचित्र लाईफ ईन एलएको प्रचारको लागि यतीेबेला नेपाल आएका यी निर्देशक यो चलचित्रबाट नेपाली बिधार्थीहरुले अमेरिका पढ्न जाँदा भोगेको समस्यालाई आफुले प्रस्तुत गर्न लागेको बताएका छन् । चलचित्रको बारेमा ब्युटी न्युज नेपालसँग कुरा गर्दै यी निर्देशकले भने,‘अमेरिका अहिले नेपाली विधार्थीहरुका लागि उच्च शिक्षा हाँसिल गर्न निकै ठुलो आकर्षकको केन्द्र बनेको छ र त्यहाँ लाखौं नेपालीहरु उच्च शिक्षा हाँसिल गर्न गएका छन् । अमेरिका पुगेपछि ती विधार्थीहरुले भोग्नु पर्ने समस्यालाई नजिकबाट नियाल्ने अबसर मैले पाएका कारण सोही कुरालाई यो चलचित्रमा उतारेको छु ।’

यो चलचित्रबाट उनी निकै उत्साहित पनि छन् । लामो समयदेखि अमेरिका बस्दै आएका हाइड्रो तथा इलेक्ट्रिक इन्जियिनर बास बिसु फिल्मको मुख्य नायक हुन् । आधा दशकदेखि अमेरिकामै बस्दै आएकी अभिनेत्री अकेशा बिष्ट, नेपालबाट अभिनेता अभिनेत्री शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङलाई समेटेर उनले यो चलचित्र तयार गरेका छन् । चलचित्रलाई नेपाल र अमेरिका दुबै ठाउँमा छायाँकन गरिएको निर्देशक सूर्यले बताए ।

यस अघि थुप्रै नेपाली फिल्म अमेरिकाबाट निर्माण भए पनि ती मध्य धेरै जसो फिल्म नेपालमा रिलिज हुन सकेनन् । तर आफुले भने अमेरिकबाट यो चलचित्र निर्माण गरे पनि यसलाई नेपाल भर रिलिज गर्न लागिएको निर्देशक सूर्यले बताएका छन् । फिल्मको व्यापारबारे उनले भने,‘हामीले लाईफ ईन एलएलाई अमेरिकामा प्रदर्शन गरेर करिब ८० प्रतिसत लगानी उठाईसकेका छौं । अझै अमेरिकाको केही स्थानमा प्रदर्शन गर्न बाँकी भएकाले यो चलचित्रको लगानी उठ्नेमा हामी ढुक्क छौं ।’

अमेरिकाबाटै चलचित्र निर्देशनमा ग्राजुएसन गरेका सूर्यले यो चलचित्रमा आफुले लस एन्जलसको लाईफ स्टाइल पनि प्रस्तुत गरेको जिकिर गरे,‘विश्वकै सुन्दर शहर मध्य अमेरिकाको लस एन्जलस पनि एक हो । त्यहाँको जीवन शैलीलाई हामीले यो चलचित्रमा निकै आकर्षक रुपमा उतारेको हुँदा पनि दर्शकलाई यो चलचित्र नयाँ लाग्न सक्छ ।’ अझ अमेरिका जान चाहनेहरुका लागि त यो चलचित्र निकै उपयोगी सावित हुने पनि यी निर्देशकले जिकिर गरेका छन् ।

यो चलचित्रको मुख्य अभिनेता बास बिसु हुन् । डेढ दशक भन्दा लामो समयदेखि अमेरिका बस्दै आएका बासले यो फिल्ममा लगानी गरेका हुन् । बासको अभिनय राम्रो भएका कारण आफुले यो चलचित्रको मुख्य भूमिकामा अनुबन्धित गरेको पनि सूर्यले बताए,‘हामी अन्य नायक पनि लिन सक्थ्यौं । तर यो चलचित्र छायाँकनको क्रममा अमेरिकामा कोभिडको महामारी भएको र नेपालबाट नायक मगाएर छायाँकन गर्न सहज नभएका कारण बासले नै यसमा अभिनय गर्नु भएको हो । उहाँको कामलाई दर्शकले रुचाउनु हुनेछ भन्ने मेरो विश्वास छ ।’ सूर्यले भने ।