छायाँकन सुरु भयो के घर के डेराको


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

चलचित्र ‘के घर के डेरा’ को छायाँकन सुरु भएको छ । शुक्रबार स्वयम्भुमा रहेको हारती माताको मन्दिरमा पुजा गरेर शुभ साईत सम्पन्न गर्दै यो चलचित्रको छायाँकन शुक्रबारबाटै सुरु गरिएको हो । यो चलचित्रको दुई वर्ष अघि नै निर्माण गर्ने भनिए पनि बीचमा कोरोनाको महामारी आएपछि यसको निर्माण अघि बढ्न सकेको थिएन ।

यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरिरहेका छन् । यस अघि यो चलचित्रको निर्देशकमा सुव्रतराज आचार्य थिए । दुई वर्षसम्म फिल्मको छायाँकन हुन नसकेपछि यतीबेला निर्देशक परिवर्तन भएका छन् ।

यो चलचित्रमा डेरामा बस्नेहरुको समस्यालाई प्रस्तुत गरिने भएको छ । जसमा दयाहाङ देखि बिपिनसम्मले डेरामा बस्ने पात्रको चरित्र निर्वाह गर्दैछन् । के घर के डेरामा दयाहाङ राई, वर्षा राउत, विपिन कार्की, सुरक्षा पन्त, आशान्त शर्मा, लक्ष्मी गिरीलगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई युवराज कार्की, राजिव श्रेष्ठ, किरण महर्जन र सरद श्रेष्ठले निर्माण गरिरहेका छन् ।