फिल्म रिलिज पछि आयो हेल्लो जिन्दगीको रिमझिम


ब्युटी न्युज नेपाल
काठमाडौं,१७ बैशाख

गत चैत्र १८ मा नेपाल रिलिज भएको एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘हेल्लो जिन्दगी’ को वियोगान्त भावको गीत ‘रिमझिम रिमझिम..’ को भिडियो शुक्रबार रिलिज भएको छ । यो भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनीक गरिएको हो ।

गीतमा निर्देशक बोहराकै शब्द, अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वरमा रहेको छ । अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईंले यो गीतमा अभिनय गरेका छन् । बेलायतको बिभिन्न रमणीय स्थानमा खिचिएको यो चलचित्रमा प्रमुख पात्र अभिनेता बिक्रमले गरेको प्रेम, पाएको धोका, घात र अनौठो परिस्थितिलाई सस्पेन्स तवरले प्रस्तुत गरिएको देखिन्छ । गीतकार तथा निर्देशक बोहराले ‘रिमझिम रिमझिम’ लाई आफूले लेखेका अहिलेसम्मका गीत मध्ये सर्वाेत्कृष्ट भएको दावी गरेका छन् । उनले यसअघि लेखेका ‘कान्छा’ फिल्मको ‘हजुर इजाजत भए’,‘ठूली’ को ‘म त मर्छु की क्या हो ठूली’, ‘भैरे’ को ‘सनम माया लाको’,‘हेलो जिन्दगी’ को ‘कता कता’ लगायतका बोलका गीत चर्चित छन् । फिल्ममा कथाको बहावसँगै आउने ‘रिमझिम’ ले दर्शकको मन छुने बिश्वास उनको छ ।

यो चलचित्र अब अब अमेरिका, युके,जापान,अष्ट्रेलियालगायतका थुप्रै देशमा प्रदर्शन हुने तयारीमा छ । सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारको अभिनय छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् ।