अभिनेत्री वर्षाले गरिन प्रेमी आशिषसँग विवाह


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ बैशाख

केही दिन यताबाट एक पछि अर्को गर्दै नायिकाहरु धमाधम दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । बिहिबार मात्र अभिनेत्री केकी अधिकारीले विवाह गरेकी थिईन् । यस्तै आज शुक्रबार अर्की अभिनेत्री वर्षा सिवाकोटीले पनि विवाह गरेकी छिन् । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा प्रेमी आशिष गेलालसँग वर्षाले लगनगाँठो कसेकी हुन् । आशिष अमेरिकामा बस्छन् । काठमाडौ बालुवाटारका आशिष पेशाले इन्जिनियर हुन् ।

अभिनेत्री केकी जस्तै अभिनेत्री वर्षाले पनि सुटुक्क विवाह गरिन् । वर्षाको विवाहमा पनि केटा र केटी परिवारका आफन्त मात्र सहभागी थिए । केकीले जस्तै वर्षाले पनि विवाह पछि बेसार सृँगार समारोहको केही थान फोटो शेयर गर्दै आफुले विवाह गरेको बताएकी छिन् ।

वर्षा र आशिष केही समय यताबाट प्रेम सम्बन्धमा थिए । अमेरिकामा बस्दै आएका आशिषलाई भेट्न केही समय अघि वर्षा अमेरिका समेत गएकी थिईन् । त्यसपछि आशिष विवाहको लागि नेपाल आएका हुन् । विवाहपछि उनीहरुले सामाजिक सञ्जलमा यस्तो लेखेकी छिन्,‘आज हामी परिवारको उपस्थितिमा एक निजी समारोहबीच आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छौं र यो कुरा बाँड्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । जब हामी जीवनको नयाँ अध्यायमा प्रवेश गर्छौं, हामी तपाइँ सबैलाई माया र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं ।’