फिक्कलमा बसन्त काव्य उत्सब


राजधानी समाचारदाता
इलाम, ७ बैशाख

नेपाल तथा भारतका साहित्यकारको उपस्थितिमा फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा यो उत्सब भएको हो ।

सो कार्यक्रममा पहिलो भारतीय नेपाली महाकविका रूपमा परिचित मोहन दुखुनलाई देवकोटा लुसुन प्रज्ञा पुरस्कारबाट सम्मान गरिएको छ । उत्सवमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले दुखुनलाई ५० हजार राशिसहित ताम्रपत्र प्रदान गरे । सदस्य सचिव उपाध्यायले कला, साहित्य तथा संस्कृतिको विकासबाट नै सभ्य र उन्नत समाजको विकास हुने विचार व्यक्त गरे । उनले संस्कृतिले नै मानिसलाई नजिक ल्याउने र समाजलाई गतिशील बनाउन मद्दत गर्ने बताए ।

सो अवसरमा संगीतकार, वास्तुकार एवं सिक्किम सरकारका पूर्वसचिव किरण रसाइली तथा सम्मानित व्यक्तित्व मोहन दुखुनले मन्तव्य व्यक्त गरेका थिए । सम्मानित व्यक्तित्वका बारेमा सञ्चारकर्मी चन्द्र भण्डारीले चर्चा गरे । सो अवसर देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका कार्यकारी सदस्य सुनीलकुमार पौड्यालद्वारा लिखित ‘नश्वर जीवन’ काव्यको विमोचनसमेत गरिएको थियो ।

त्यस्तै, उत्सवमा सुनीलकुमार पौड्याल, पवित्रा राई, देवेन्द्रनाथ शर्मा, अर्जुन वेदना राई, कविता राई ‘गाउँले’, नदी भट्टराई, प्रकाश थाम्सुहाङ, विमल वैद्य, सुश्री दीपा राई, डा. भिखीप्रसाद ‘वीरेन्द्र’, चन्द्र भण्डारी, जीविका अश्रु, लतिका जोशी, कमल भट्टराई, ज्ञानेन्द्र खतिवडा, एनबी घिमिरे, सुभद्रा भट्टराई, गोपाल ढकाल, उषा नन्दी, जगन दाहाल, देवेन्द्रनाथ शुक्ल, अम्बर लाछिकाठी गुरूङ, निमा न्यासूर, युवराज काफ्ले, होमनाथ दवाडी, कृष्ण प्रसाई, आरती ठकुरी लगायतले कविता वाचन गरे । देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको बताए । नवीन साहित्य प्रतिष्ठान, साहित्य, संगीत नाट्य प्रतिष्ठान र सूर्याेदय सामाजिक प्रतिष्ठानले सहयोग गरेको सो कार्यक्रममा रेडियो फिक्कलले मिडिया पार्टनरको रुपमा सहयोग गरेको थियो ।

यस्तै, आइतबार बिहान श्रीअन्तुमा सुर्योदयसँगै स्रष्टा कृष्ण प्रसाईद्वारा लिखित ‘घामको आयु’ कविता संग्रह सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय तथा देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईले तीन भाषा लेखिएको उक्त जेन कविता संग्रहको संयुक्त रुपमा विमोचन गरे । सो सन्दर्भमा कवि प्रसाईले चार वटा कविता वाचन गरेका थिए ।

सूर्याेदय नगरपालिका र गणेश रसिक फाउन्डेसनको सहआयोजनामा भएको उत्सवमा सञ्चारकर्मी, राजनीतिज्ञ एवं सिक्किम सरकारको अन्य पछौटेवर्ग आयोगका अध्यक्ष पवित्रा भण्डारी, इलाम सूर्याेदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राई, साहित्यकार, संगीतकार एवं गायक गणेश रसिक, भारतबाट श्रीमती माला राणा, डा. भिखीप्रसाद ‘वीरेन्द्र’, सिक्किमका सञ्चारकर्मी मोहन शर्मा, एरोन राई, बबू तामाङ लगायतको उपस्थिति रहेको थियो ।