ब्युटी न्युज नेपाल
चितवन, ६ बैशाख

यस पटकको स्थानीय निर्वाचनको तिथि नजिकिँदै छ । यसै क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चुनावी प्रचार गीत सार्वजनिक गरेकी छिन् । सत्तागठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसंगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । माओवादीबाट दाहाल निर्विकल्प पुनः भरतपुरको मेयर उम्मेद्वार हुन् ।

गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ । विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ ।

भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् । नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् ।सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।

यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशालालगायत स्थानमा छायाँकन गरिएको हो । भिडियोमा स्वंम मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटीलगायतको अभिनय छ ।