राज केको गीति भिडियोमा कुलमानको सँघर्ष कथा


ब्युटी न्युज नेपाल
काठमाडौ, २६ फागुन

अष्ट्रेलियामा बस्दै आएका गायक राज के गोस्वामीले आफ्नो नयाँ गीत ‘बादलहरु’ को भिडियो रिलिज गरेका छन् । शुक्रबार काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको छ । यो गीतलाई अभिनेत्री सुरक्षा पन्तले लेखेकी हुन् । जसमा संगीत मानव सुवेदीको रहेको छ । गीतलाई सुशील सापकोटाले छायांकन गरेका हुन् ।  भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन् ।

नेपाली टचको प्रस्तुतिको रहेको यो गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, गीतकार राज र घनु जोशीको अभिनय रहेको छ । गीतलाई पर्वतमा खिचिएको हो । यो गीतको शुक्रबार बेलुका काठमाडौंमा प्रिमियर गरियो । प्रिमियर समारोहमा नेपाल विद्युत प्राविधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवाङले कार्यक्रममा गीत र भिडियोबारे चर्चा गरे ।

उज्यालो नेपालका अभियन्ताका रुपमा चिनिएका कुलमान घिसिङको सँघर्ष कथालाई साँकेतिक गरेर बादलहरु…गीतको भिडियो तयार गरिएको छ । भिडियोलाई युट्युव च्यानल ओएसआर डिजिटलबाट शुक्रबार नै रिलिज गरिएको हो ।

अभिनेता राजेश हमालले यो गीत र भिडियोले विकाशलाई महत्व दिएको बताए । उनले यसलाई राम्रो सर्ट फिल्म पनि भने, ‘कुलमानजीको वास्तविक भिडियोले यो गीत र भिडियो सिर्जना भयो । हामी यो भिडियो हेरेर प्रभावित भयौँ ।’ उनले भिडियोमा गायनसँगै अभिनयमा पनि डेब्यु गरेका गोस्वामी र सुरक्षा पन्तको पनि अभिनयको प्रशंसा गरे ।

गायक राजेश पायल राईले आफु कुलामानको ठुलो फ्यान रहेको र उनको सँघर्ष कथा गीतको भिडियोमा हेर्दा अझ खुसी लागेको बताए । गीत सँगीतमा यतीठुलो शाक्ति हुन्छ भन्ने कुरा बादलहरु गीत र यसको भिडियोले प्रस्ट्याएको पनि उनले बताए । राज केको गायनको उनले खुलेर प्रसँसा गरे ।

अभिनेत्री सुरक्षा पन्तले आफ्नो लिडर कुलमान भएको र उनले बिजुली ल्याउन गरेको सँघर्षको एउटा भिडियो देखेर प्रभावित भएको बताईन् । सोही भिडियो हेरेपछि यो म्युजिक भिडियोको स्कृप्ट तयार गरेको पनि उनले खुलाईन् । आफु बादलहरुमा गीतकार, लेखक र अभिनय गरी तीन विधामा रहेको पनि उनले बताईन् ।

 

गायक शिव परियारले गीतबाट विकासको चर्चा निकै राम्ररी गरिएको सो क्रममा बताए । यो गीतबाट आफु निकै प्रभावित भएको उनको कथन थियो ।

कुलमान घिसिङले आफ्नै पेशालाई केन्द्रमा राखेर बनाएको भिडियोले आफ्नो पेशाको सम्मान भएको भन्दै खुसी व्यक्त गरे । अबको दुई वर्षमा नेपालको सबै ठाउँमा बिजुली पुर्याउने लक्ष्य उनले सो क्रममा सुनाए । यसका लागि जनताको अझ धेरै साथको आबस्यक्ता आफुलाई रहेको उनले बताए ।

गायक राज के गोस्वामीले अष्ट्रेलियामा बसेर पनि आफुहरुले नेपाली सँगीतको विकाशमा योगदान दिँदै आएको र यसै क्रममा यो गीत ल्याएको बताए । यो गीतको भिडियोबाट डेब्यु गर्दाको अनुभव पनि उनले सुनाए ।

निर्देशक मानव सुवेदीले केही फरक काम गरौं भनेर बादलहरुको सँगीत गरेको र सोही अनुसारको भिडियो बनाएको जिकिर गरे । सुरक्षाको स्कृप्ट राम्रो भएकाले पनि भिडियो फरक बनेको उनको कथन थियो ।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ ।