महिला बनेर सिके पुरुषहरुले सिँगारु नाच


ब्युटी न्युज नेपाल
सुर्खेत, २३ फागुन

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नृत्य विभागको आयोजनामा बिहिबारबाट सुरुकर्णाली प्रदेश स्थित सुर्खेतको जामुने बजारमा सुरु भएको चार दिनको यो नृत्य प्रशिक्षण सोमबारबाट सकिएको छ । सुर्खेतको सिम्टा क्षेत्र उद्गम स्थल मानिएको ‘सिँगारु नाच’ त्यहाँको त्यहाँका नयाँ पुस्ताले सो प्रशिक्षणमा अग्रजबाट सिकेका छन प्रशिक्षणमा पुरुषहरुले महिलाको पहिरन लगाएर महिला भेषमा महिलासँगै यो नाच सिकेका छन् ।

प्रशिक्षणको समापन समारोहमा जब पुरुषहरुले सृँगार पटार गरेर महिला भेषमा महिलासँगै नृत्य प्रस्तुत गरे । त्यो दृष्य निकै मोहक बनेको थियो । यो नाच सिकेका नयाँ पुस्ताको सृँगारु नाच हेर्न सिम्टा गाउँपालिका सुर्खेतको पुरानो गाउँपालिका भवन प्राँगनमा दर्शकको भिड थियो । समापन समारोहका प्रमुख अतिथि साँसद धु्रबकुमार शाही पनि नयाँ पुस्ताले सुँगारु नाच छमछमी नाचेको देखेर दँग परे । नयाँ पुस्तालाई नाचमा अग्रजले पनि साथ दिए । समापन समारोहमा साँसद शाहीले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै भने,‘सिँगारु नाचको उद्गम स्थल सिम्टा भए पनि यहाँका नयाँ पुस्ताले यो नाच जानेका थिएनन् । करिब ४० जना युवा युवीलाई यो नाच सिकाएर कला हस्तान्तरण गर्दै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले निकै राम्रो काम गरेको छ ।’ अब यो नाच जीवन्त रहने विश्वास उनले सो क्रममा व्यक्त गरे ।

चार दिवसीय सो नृत्य प्रशिक्षणको उद्घाटन बिहिबार बिहान सिम्टा गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले गरेका थिए । गाउँघरमा जेष्ठ नागरिकमा मात्र सिमित भएको यो नाच नयाँ पुस्तालाई सिकाउन आफ्नो गाउँपालिका रोजेको भन्दै उनले खुसी व्यक्त गरे । यो नृत्यलाई क्षेत्रीयबाट राष्ट्रिय बनाईदिन पनि उनले संगीत नाट्य प्रतिष्ठानलाई अनुरोध गरे ।

नेपाल संगीत तथा नृत्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ नमुना शर्माको अध्यक्षतामा सो प्रशिक्षण सम्पन्न भएको हो । लोप हुन लागेको लोक नृत्यहरुको सँरक्षण गर्ने क्रममा आफुहरले यसपटक प्रतिष्ठानका तर्फबाट सिँगारु नाच प्रशिक्षण आयोजना गरेको शर्माले बताईन् ।
उद्घाटन समारोहमा ‘सिम्टामा प्रचलित सिँगारु लोक नाचको सौद्धान्तिक पक्ष’ शिर्षकमा जिवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गरे । स्थानीय जेष्ठ नागरिकहरुले सो कार्यपत्रमाथि टिप्पणी गर्दै सुझाब दिएका थिए ।

चार दिनसम्म दिनभर चलेको सो प्रशिक्षणमा स्थानीय ९ वटा विधालय तथा कलेजका विधार्थीहरुले सिँगारु नाच सिकेका छन् । सिँगारु नाच विज्ञ कुलमान नेपालीले आधुनिक शैलीमा नाच्ने कला र स्थानीय कलाकार कालिबहादुर मल्लले सिँगारु नाच नाच्ने तरिका सिकाए । सोही क्रममा प्रेमदेव गिरी र खम्बराज गिरीले सिँगारु नाचमा मदाल बादनको प्रशिक्षण दिए । सिँगारु नाच सिकेर आकर्षक रुपमा प्रस्तुत गर्न पाउँदा प्रशिक्षार्थी युवा पुस्ताले कार्यक्रममा खुसी व्यक्त गरे ।