रविन तामाङको स्वरमा आयो ‘चिसो एष्ट्रे’को शीर्ष गीत

ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ फागुन

चलचित्र ‘चिसो एष्ट्रे’को शिर्ष गीत ‘चिसो एष्ट्रे…’ शुक्रबार सार्वजनिक गरिएको छ । चलचित्रका शिर्ष कलाकार रविन तामाङकै शब्द, सँगीत र स्वरमा यो गीत तयार भएको हो । यो चलचित्र ४ चैतबाट सिनेमा हलमा रिलिज हुँदैछ ।

नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित तामाङले फिल्मले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए,‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने ।

फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तरक्रिया पनि भएको थियो । विद्यार्थी माझ अन्तरक्रिया गर्दै टिमले आफूहरुले सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको बताएका थिए ।

वजनदार आवाजका धनि रविङ तामाङको बोल्नै शैली बिल्कुलै फरक छ । उनको आवाज जस्तै फरक हुने गर्छन् उनले गाएका गीत । फिल्मको अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय छन् ।

केही समय पहिले उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए जसको भारतमा निकै चर्चा भएको थियो । नेपालमा भने रविन तामाङ लामो समयपछि पर्दामा देखिँदैछन् ‘चिसो एष्ट्रे’मार्फत् । तर यो फिल्ममा तामाङले अभिनय मात्र होइन, यो शिर्ष गीत पनि गाएका छन् ।