जयनन्द लामाको मृत्युको कारण टाउकोमा लागेको चोट


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन

हास्य अभिनेता तथा गायक जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ । उनको निधन टाउकोमा लागेको चोटका कारण भएको सो रिपोर्टमा उल्लेख छ । कलाकार लामा यही ११ फागुन ११ राती २ बजेतिर भक्तपुरको कौशलटारस्थित आफ्नै घर बाहिर कारबाट लडेर निधन भएको थियो ।

बिहान परिवारले उनलाई मृत अबस्थामा भेटेपछि सोही दिन उनको पोष्र्टमार्टम गरिएको थियो । खुट्टा आफ्नै कारको ब्रेकमा अड्किएको र कारको ढोका बाहिर पर्खालमा टाउको ठोक्किएर जमिनमा मृत अबस्थामा लडेको स्थितिमा परिवारले लामालाई भेटेका थिए ।

उनको पोष्ट मार्टम रिपोर्ट परिवारलाई आएको छ । परिवारका अनुसार सो रिपोर्टमा लामाको शरीरमा हतियार अन्य बस्तुको चोट नभएको र टाउकोमा रगत जमेका कारण लामाको मृत्यु भएको उल्लेख छ । सो रिपोर्ट लामाको परिवारलाई प्रहरीले दिएको हो ।

उनको शव पोष्टमार्टम भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा गरिएको थियो । चिकित्सकले लामाको मृत्युको कारण टाउको ठोकिएको उल्लेख गरेका छन्। ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड’ अर्थात् टाउको बजारिएर लामाको मृत्यु भएको भन्ने कुरा रिपोर्टमा उल्लेख गरिएको छ ।