प्रतिनिधि सभाबाट एमसीसी पारित


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

अन्तत प्रतिनिधिसभाबाट आज बेलुका बहचर्चित एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता पारित भएको छ । आज एमसीसीलाई नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सँसदमा पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए । लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा मत प्रकट गरे ।

यस अघि बिपक्षमा रहेको नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन जनाएपछि एमसीसी पारित भएको हो । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । व्याख्यात्मक घोषणामार्फत सरकारले सम्झौतालाई आर्थिक सहायतको रुपमा स्वीकार गर्ने तर कुनैपनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा नबाँधिएको घोषणा गरेको छ ।

राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा मत दिए । पछिल्लो समय एमसीसीको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने वेल घेराउमै रहेको थियो । एमसीसीका कारण बर्तमान गठबन्धन सरकार टुट्ने अबस्था आएको थियो । अन्तत माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घुमाउरो रुपमा समर्थन गरेपछि देउवाको गठबन्धन सरकारको आयु थपिएको छ ।
सकारबाट बाहिरिएपछि एमसीसी बिरुछ पछिल्लो समय एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा निरन्तर नाराबाजी गर्दै आएको छ । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा देखिएको विवाद चर्केपछि माओबादी केन्द्र र समाजवादी एमसीसीको पक्षमा आएका हुन् ।

आजै प्रतिनिधिसभाको पहिलो बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल भएको थियो । सांसदहरुको धारणा र गठबन्धनको सहमति अनुसार संसद भवनमै बसेको मन्त्रिपरिषद बैठकले सम्झौताबारे उठेका प्रश्नहरुको निवाराणार्थ व्याख्यात्मक घोषणा पेश गर्ने निर्णय गरेका थिए ।