प्रहरी नियन्त्रणमा पल शाह, अनुसन्धान सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

तीन दिनदेखि फरार रहेका अभिनेता पल शाहलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन ११ गते १७ वर्षिय नाबालिग गायिकाले तनहुँमा जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएपछि फरार थिए ।

अभिनेता शाहले आज विहान फेसबुकमा एक स्टाटस लेख्दै आइतबार आफू प्रहरीसमक्ष उपस्थित हुने जानकारी गराएका थिए । उनलाई तनहुँ प्रहरीले तनहुँ क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनले शनिबार राती नै तनहुँ पुगेको बताईएको छ । तनहुँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । देशभरका प्रहरी कार्यालयमा पक्राउका लागि सर्कुलर समेत जारी भएको थियो । बुधवारदेखि शनिवार साँझसम्म पल शाहसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग प्रहरीले सोधपुछ समेत गरेको थियो ।
आईतबारबाट पलसँग सोधपुर र उनी बारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पलले आइतवार फेसबुकमा लेखेका थिए, ‘मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’