देशव्यापी सिनेमा हलमा म यस्तो गीत गाउँछु २


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आज शुक्रबारबाट मुलुकका अधिकाँस सिनेमा घरमा रिलिज भएको छ । यो चलचित्रले शुक्रबार मध्यन्नपछिको शोबाट राम्रो पिकअप लिईरहेको हल सञ्चालकहरुले बताएका छन् ।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको पुजाले बताएकी छिन् ।

सुदर्शन थापा निर्देशित यो चलचित्रलाई सुदर्शन र अभिनेत्री पुजा शर्माले निर्माण गरेका हुन् । यो चलचित्रको किर्तीपुर सिनेप्लेक्समा बुधबार गरिएको प्रिमियरमा सिनेमाकर्मी तथा संचारकर्मीले रुचाएका थिए । अहिले दर्शकबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएकाले सिनेमाले दर्शकबाट मन जित्ने विश्वास निर्देशक सुदर्शनको छ ।

आज म यस्तो गीत गाउँछु २ ले सिँगल देखि मल्टिप्लेक्स हलमा उच्च शोज पाएको पनि निर्देशक सुदर्शनले बताएका छन् । दर्शकको उपस्थित हलमा राम्रो रहेको पनि उनले बताए । गत फागुन १ बाट सिनेमा हल खुले पनि यही चलचित्रबाट नयाँ चलचित्र रिलिज सुरु भएको पनि उनले बताए ।

निर्देशक थापाको कथालाई शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा तथा संवादमा ढालेका छन् । सिनेमाका सह निर्माता जन्मजय साम्पाङ्ग राई हुन् । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर यो चलचित्रमा रहेको छ ।