ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

बरिष्ट लोक गायक तथा हास्य अभिनेता जयनन्द लामाको गएराती आफ्नै निवास बाहिर निधन भएको छ । हिजो राती बाटै घर नफर्किएका उनलाई बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको मृत अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनको हृदयघात भएको हुन सक्ने आशँका गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए । डिएसपी पाण्डेले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

उनको निधनको खबरले नेपाली चलचित्र उधोग तथा शुभचिन्तक स्तव्ध भएका छन् । अहिले उनको पोष्टमार्टम भईरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी लगायतका फिल्ममा अभिनय गरेका थिए ।

लामा निर्देशक पनि थिए उनले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ लगायतका फिल्मको निर्देशन पनि गरेका छन् । चरित्र अभिनयमा उनी सर्वाधिक व्यस्त कलाकारमा पर्थे ।

लामो समयदेखि लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गर्दै आएका उनी कशुल गायक पनि हुन् । उनले स्वर दिएको ‘कलकत्ते काइँयो केश मेरो बांगो…’, ’टेबलमा ऐना छ…’ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै ’चट्ट परेको चुल्ठी…’, ’हेर्दैमा राम्रो…’, ’चुइँ चुइँ चुइँकने जुत्ता…’, ’नाच्यो झिल्के नाच्यो…’, ’मूलाको चाना…’, ’सलल पानी…’ लगायतका गीत चर्चित छन् ।