ब्युटी न्युज नेपाल
काठमाडौं ४ फागुन

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रचार प्रसारका लागि निर्माण पक्षले दुई वटा प्रचार–प्रसार गीतको भिडियो सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको प्रचारका लागि थारु भाषा र नेपाल (नेवारी) भाषामा दुई वटा प्रोमोशनल गीत सार्वजनिक गरिएको हो ।

जस मध्य थारु भाषाको गीत बुधबार नै युट्युवबाट पनि रिलिज भएको छ भने नेवारी भाषाको गीत बिहिबार युट्युवबाट रिलिज गरिँदैछ । यो चलचित्रका लागि रिलिज गरिएको प्रचारप्रधान गीतमा म यस्तो गीत गाउँछु २ यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी गराईएको छ ।

थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ । यो गीतको भिडियो चितवनको एक थारु बस्तीमा खिचिएको हो । यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा पनि थारु पहिरनमा प्रस्तुत भएका छन् ।

यस्तै बुधबार नै सार्वजनिक गरिएको नेवारी भाषाको गीतको भिडियोमा पनि पल शाह र पुजा शर्माले नेवारी पहिरनमा सजिएर अभिनय गरेका छन् । चलचित्रको प्रचारकै लागि आफुहरुले यो गीतको भिडियो तयार गरेर रिलिज गरेको यसका अभिनेता पल शाहले बताए । अभिनेत्री पुजा शर्माले पनि आफ्नो यो चलचित्र सफल हुने विश्वास व्यक्त गरिन् । थारु र नेवारी दुबै भाषामै आफुले यो गीतमा सम्बाद बोलेको पुजाले बताईन् ।

निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रोमोशनल गीत बनाउने योजना रहेकोमा पछिल्लो कोरोना महामारीका कारण बनाउन नसकेको बताए । चलचित्र सफल हुनेमा आफु विश्वस्त भएको उनको कथन थियो ।

पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायसहितका कलाकारको अभिनय छ । चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ । सुदर्शन थापा र पूजा शर्माले यो चलचित्र निर्माण गरेका हुन् ।