बरिष्ट साहित्यकार तारानाथ शर्माको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन

वरिष्ठ साहित्यकार तारानाथ शर्मा अब हामी रहेनन् । उनको मँगलबार ८७ वर्षको उमेरमा निधन भएको छ । ताना शर्माका उपनामले समेत परिचित उनी केही समय यताबाट बिरामी थिए । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनी ‘झर्राेवादी आन्दोलन’का एक अगुवा थिए । नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचना जस्तो विविध साहित्यिक विधामा कलम चलाउँदै आएका शर्माका थुप्रै कृतिहरु प्रकाशित छन् ।

डा. शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार हाँसिल गरेका थिए । उनी नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यता पनि थिए ।

उनले विभिन्न साहित्यिक कृतिसँगै पाठ्यपुस्तक पनि लेखेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । उनको पशुपति आर्यघाटमा केही समय अघि अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजेबाट पशुपति आर्यघाटमा गरिँदै छ ।