भ्यालेन्टाईनमा गायक रामकृष्णले ल्याए ‘तिम्ले बोल्ने बोली…’


ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘तिम्ले बोल्ने बोली…’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘भ्यालेनटाइन डे’ को छेको पारेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ’आकाश’ को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् ।

चलचित्रका निर्देशक समेत रहेका सुव्रत आचार्य निर्देशित म्यूजिक भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर र सरिता कठायत असिस्टेन्ट डाइरेक्टरको रुपमा छन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गरेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए । यो गीत उनकै नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियोका मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भने– ‘म रामकृष्ण दाईको बच्चैदेखि ठूलो फ्यान हुँ । उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो । यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु ।’ ‘तिम्ले बोल्ने बोली’ गीत दर्शकलाई मन पर्नेमा उनी आशावादी देखिए ।

त्यस्तै, गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको बताए । उनले भिडियोलाई ‘भ्यालेनटाइन डे’ सँग जोड्ने गरी तयार गरेका छन् । भिडियोमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको देखिन्छ ।

रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतीमा गीत तयार भएको हो । गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले १० वर्ष अगाडि लतासँग ‘बाचुन्जेलीलाई’ गीत गाएका थिए ।