ब्युटी न्युज नेपाल
काठमाडौं, २८ माघ

चलचित्र ए मेरो हजुरको गीत फुलको थुँगा हौकी बगेको गँगा हौ….रिलिज भएको २० वर्षपछि सोही तिथिमा आज काठमाडौंमा एक समारोहबीच पुन रिलिज गरिएको छ । शिब रेग्मीले लेखेको यो गीतलाई मुख्य स्थायी बाहेक अरु लाईन रबी मल्लले पुन रचना गरेर चलचित्र ए मेरो हजुर ४ का लागि रिलिज गरिएको हो ।

यो गीतमा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । आगामी १ बैशाखबाट यो चलचित्र देशव्यापी रिलिज हुँदैछ । यो गीतको भिडियो डोल्पाको शे–फोक्सुन्डोमा खिचिएको छ । सो मनोरम दृष्यले भिडियोलाई निकै सुन्दर बनाएको छ । गीत रिलिज भएको केही घन्टामै नेपालको युट्युव ट्रेन्डिङमा परेको छ ।

फुलको थुँगामा यस अघि श्रीकृष्ण श्रेष्ठ र झरना थापाले अभिनय गरेका थिए । त्यो गीत मुस्ताङमा छायाँकन गरिएको थियो । सो चलचित्रलाई शिब रेग्मीले निर्देशन गरेका थिए ।

निर्देशक झरना थापा, चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, यो गीतका गायक सुगम पोखरेल, निर्माता सुनिल कुमार थापा, अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा लगायतले यो गीत र गीतको भिडियोमा काम गरेको अनुभव सुनाउँदै कार्यक्रममा अभिनेत्री श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीलाई समेत सम्झिए । कल्याण सिंहले संगीत भरेको यो गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।

ए मेरो हजुर ४ लाई झरना थापाले लेखेकी हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका यो उनको लगानीको आठौं चलचित्र हो ।