सुनसरी गाडी दुर्घटनामा जलेका तिनै जनाको सनाखत

ब्युटी न्युज नेपाल
सुनसरी, २२ माघ

सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटना भएको थियो । सो दुर्घटनामा गाडीमा आगो लागेर मृत्यु भएका तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये नौजनाको न्युरो अस्पताल विराटनगर र एकजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका सबैजनाको स्वास्थ्य परीक्षणपछि परिवारजनले शव बुझेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 दुर्घटनापछि बस र ट्रकमा अचानक आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ भने सवारीसाधन पूर्ण रुपले जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय तहबाट गएको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।