शम्भुजीतलाई जीवन्त नेपाल म्युजिक अवार्डमा जीवन्त योगदान संगीत सम्मान गरिँदै,


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ पुष

गत वर्ष स्थगित भएको जीवन नेपाल म्युजिक अवार्ड यो सोमबार काठमाडौंमा आयोजना हुने भएको छ । सो अवार्ड समारोहमा बिगत साँढेर चार दशकदेखि नेपाली सँगीत बृत्तमा सक्रिय बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालाई जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित गरिने भएको छ । उनलाई अग्लेश्वरी हिल्स विकाश कोषले सोमबार काठमाडौंको सोल्टी होटरमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गर्न लागेको हो ।

सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ति मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएको छ । यस्तै पत्रकार तर्फबाट अग्रज पत्रकार बिदूर गिरी र मनोहरि थापा पनि कार्यक्रममा सम्मानित हुने भएका छन् । सांगीतिक क्षेत्रबाट आनी छोइङ डोल्मा, मिलन मोक्तान, डा. डि आर उपाध्याय, धनकुमारी थापा (सरु), विशेष सेवा तर्फबाट नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र लेखकबाट शँकर तिवारी पनि बरिष्ट सम्मानबाट सम्मानित हुँदैछन् ।

रामेछापको दोरम्बा, सुनापति र खाँडादेवि गाउँपालिकाको शैलुङ क्षेत्रमा रहेको अग्लेश्वरी हिल्समा विश्वकै अग्लो बुद्धको मुर्ती, महादेवको मूर्ती सहित जीप लाईन र सिसाको ह्याङगिङ ब्रिज निर्माण अभियानको लागि यो अवार्ड कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सिजम सिंजालीले बताएका छन् । कार्यक्रममा २०७६ सालमा बजारमा आएका गीतहरुबीच प्रतिस्पर्धा हुनेछ । जसमा ३० विधामा जीवन नेपाल म्युजिक अवार्ड प्रदान गरिने छ । २०७७ मा आयोजन गर्नु पर्ने यो अवार्ड कोरोना महामारीका कारण २०७८ मा आयोजना गरिएको पनि सिजमले बताएका छन् । कार्यक्रम सोमबार बेलुका ४ः३० बजेबाट सूरु हुने भएको छ ।