चन्द्रागिरिमा सेताम्मे हिमपात


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ पुस

काठमाडौंमा चिसो बढेपछि आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात भईरहेको छ । उच्च स्थानमा रहेको चन्द्रागिरीमा चिसो मौसममा प्रायः हिमपात हुने गर्दछ । यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहका अनुसार बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको छ । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।