चलचित्र हेलो जिन्दगी ११ चैतबाट

ब्युटी न्युज नेपाल
काठमाडौं, ९ पुष

चलचित्र ‘हेल्लो जिन्दगी’ आगामी चैत्र ११ गते अर्थात् २५ मार्च, २०२२ मा देशब्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मको बिहीबार फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै निर्देशक एभरेष्ट सूर्य बोहराले यो जानकारी गराएका हुन् । यो चलचित्रमा बिक्रम डि.जोशी,प्रियंका कार्की,दीपीका प्रसाईं,एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत,सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतका कलाकारले अभिनय गरेका छन् । सत्य घटनामा आधारित सामाजीक कथानक चलचित्र हेलो जिन्दगीको युके र नेपालमा छायांकन गरिएको थियो ।

फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । कोरोनाका कारण सुस्ताएको नेपाली फिल्मको बिश्वब्यापी बजारलाई आफ्नो फिल्मले नयाँ उचाइमा पुर्याउने बिश्वास निर्देशक बोहराको छ ।

निर्देशक बोहराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल,प्रताप दास,प्रबिशा अधिकारी,एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सहनिर्मातामा सबिता गुरुङ छिन् भने डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन मित्र छ ।