ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा वरिष्ठ गीतकार राजेन्द्र थापालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिने भएको छ । नेपाली गीत लेखनमा थापाको पाँच दशक लामो योगदानको कदर स्वरुप यो सम्मान प्रदान गर्न लागिएको हो । पोहोर साल खुशी फाट्दा, पर लैजाउ फूलहरु, क्या दामी, याद गर्न पनि, गाला रातै, पहिलो नम्बरमा लगायतका सयौं सदाबहार गीतका स्रष्टा वरिष्ठ गीतकार राजेन्द्र थापालाई यस वर्ष नवौं संस्करणको म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको म्युजिक खबर डटकमका अध्यक्ष सुमन पण्डितले बताएका छन् ।

त्यसैगरी यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गायक रामप्रसाद खनाललाई अर्पण गरिने भएको छ । गायक खनाल लोकदोहोरीको क्षेत्रमा प्रबद्र्धकका रुपमा चिनिनुहुन्छ । दोहोरी प्रतिस्पर्धालाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने गायकका रुपमा परिचित हुनुहुन्छ । तीन दशकअघिदेखि गीतसंगीतमा क्रियाशील रहेका खनालका चार दर्जन गीति एल्बम बजारमा आइसकेका छन् भने फुटकर गीतहरु पनि प्रकाशित भएका छन् । उहाँले नेपाल टेलिभिजनबाट दोहोरीलाई सबै नेपाली सामु पु¥याउन सफल हुनुभएको थियो भने पत्रकारिता, गायक, लेखनका कार्यमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । उहाँ पछिल्लो समय अमेरिका रहेर नेपाली गीतसंगीत र साहित्यको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ भने अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षसमेत रहेर जिम्मेवारीपूर्ण कार्य गरिरहनुभएको छ ।

त्यसैगरी यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार वरिष्ठ रङ्गपत्रकार विदुर गिरीलाई अर्पण गरिन लागिएको छ । उहाँ नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको समाचार सम्पादक र कामना सिनेमा मासिक पत्रिकाको सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
वि.सं. २०४७ सालमा साप्ताहिक गतिविधिमा नाटक, चलचित्र, टेलिचलचित्र, भिडियो चलचित्र, सांस्कृतिक गतिविधि, फेशन, गीत संगीतलगायतको मनोरन्जन क्षेत्रलाई विषय बनाई स्तम्भ लेखन शुरु गर्नुभएका विदुर गिरी निरन्तर हालसम्म पनि क्रियाशील रहनुभएको छ ।

उहाँले वि.सं. २०४९ सालदेखि २०५३ सालसम्म सिने मासिक कामनामा संवाददाता हुँदै कार्यकारी सम्पादकको रुपमा कार्य सम्पादन गनुभएको थियो । त्यस्तै वि.सं. २०५३ सालमा सिने मासिक पत्रिका फिल्म सपोर्ट र गीताञ्जली मनोरञ्जन पत्रिकाको सम्पादन गर्नुभएको थियो भने वि.सं. २०५३ देखि ०५६ सालसम्म नेपाल टेलिभिजनको साप्ताहिक सिने कार्यक्रम सिने लहरमा विशेष प्रतिनिधि तथा सल्लाहकारका रुपमा कार्य सम्पादन गर्नुभएको थियो । वि.सं. २०५६ सालमा आफ्नै प्रकाशन र सम्पादनमा सिने मासिक सिने क्वीनको प्रकाशन प्रकाशनसमेत गर्नुभएको थियो भने वि.सं. ०५७ सालमा नयाँ सडक दैनिक, पत्रिका सातदिनेलगायतका पत्रपत्रिकामा लेखन तथा रिपोर्टिङ कार्य गरी पत्रकारितामा निरन्तरता र सक्रियता दिनुभएको थियो ।

त्यसैगरी उहाँले वि.सं. ०५८ सालमा स्पेशटाइम दैनिकमा रही सयपत्री नाामक मनोरन्जन पृष्ठको सम्पादन र रिपोर्र्टिङ कार्यको जिम्मेवारी सम्हाल्नुभएको थियो । वि.सं. २०६१ देखि २०६३ तथा २०६७ देखि २०७० चैत ६ गतेसम्म चलचित्र पत्रकार संघको दुई कार्यकाल अध्यक्षरही नेपाली मनोरञ्जन जगतमा लागेका पत्रकारहरुको छाता संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यतिबेला वरिष्ठ पत्रकार विदूर गिरी नेपाल समाचारपत्रको समाचार सम्पादक र सिने मासिक कामनाको सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने नेपाल पत्रकार महासंघ, केन्द्रिय परिषदको सदस्य समेत रहेर सांगठनिक भूमिका निर्वाह गर्नुभएको छ ।
त्यस्तै गायक हेमन्त शर्मा र गायिका सीता थापालाई यस वर्षको म्यूजिक खबर दशकको स्रष्टा सम्मान अर्पण गरिने भएको छ । गायक हेमन्त शर्मा दुई दशक लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहेका छन् । मुटुभित्र गुन्जिरहन्छ तिम्रो नाम गीतबाट सांगीतिक क्षेत्रमा पाइला चाल्नुभएका शर्माले अंकुरण समूहहुँदै काठमाडौंसम्मको यात्रामा सयौ गीतहरुमा स्वर भरिसक्नुभएको छ । उहाँका ओ प्रिय, माया साह्रै महंगो, थापा न थापा, आउँदै गर मालती, मूल हौ भने रसाइदेउ लगायतका गीतहरु चर्चाको शिखरमा छन् ।

त्यस्तै गायिका सीता थापा काठ क्षेत्रको सांगीतिक इतिहास बोकेकी गायिका हुन् । उहाँले गाएका लोकदोहोरी, काठे तथा पूर्वेली गीत, चलचित्र गीत लगायतले उहाँको गायकीलाई उचाइमा पु¥याउन सफल भएको हो । उनको स्वरमा रहेको काँचो ओखर, नयाँ बानेश्वर, काठमाडौं सिंहदरबार, गालैमा रै’छ डण्डीफोर, ऊनीको पछ्यौरी, खानीखोला, दुई रुपैयाँको बिंडी, घर हाम्रो रापेछाप, मोरालाई पड्काइदिन्छु सौताको छोरालाई, सिन्धुली बर्दिबास, घुम्तीमा पहिरो छ लगायत रहेका छन् ।

त्यसैगरी यस वर्षको युवा प्रतिभा संगीत सम्मान गायक राजु ढकाललाई अर्पण गरिने भएको छ । गायक राजु ढकाल विगत दुई दशकदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ । उहाँको स्वरमा रहेका वर्ष दिन भो, लौरी हरायो, दुई बिसेले छोयो, पिरतीको इतिहास, नहाँसी नहुने, तिम्रै माया लाग्छ सानु, के गरेर हो लगायत सयौं गीतहरु बजारमा आइसकेका छन् । गायन र मोडलिङसँगसँगै उहाँको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्ष पदमा रहेर सांगठनिक जिम्मेवारी पनि सम्हालिरहनुभएको छ ।

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका सफलता श्रेष्ठलाई अर्पण गरिन लागिएको छ । गायिका श्रेष्ठ पछिल्लो समयमा गायनका माध्यमले अगाडि बढिरहनुभएको छ । सानै उमेरमा उहाँले गायनमा राख्नुभएको रुचि र स्वरका माध्यमले यस क्षेत्रमा चाल्नुभएको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले म्यूजिक खबरले उहाँलाई सम्मान गर्न लागेको हो । उहाँको स्वरमा रहेको म हुँ नेपाली लगायतका केही बाल गीतहरु बजारमा आएका छन् ।